नेप्सेमा निरन्तर तीन कारोबार दिन गिरावट, आज कारोबार रकम भने बढ्यो
काठमाडौं,२२ जेष्ठ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्ला दुई दिनदेखि घटेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
बिहीबार नेप्से परिसूचक ५।९९ अंक घटेर २६४०।९६ विन्दुमा झरेको छ । यस दिन फ्लोट इण्डेक्स ०।२६ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०।०८ अंक बढेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स भने यस दिन स्थिर रहेको छ ।
नेप्से घटेता पनि कारोबार रकम भने बढेको छ । बुधबार ५ अर्ब १६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ७७ हजार ६७० पटकको कारोबारमा ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँबराबरको १ करोड ७१ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन रिभर फल्स पावर, बुटवल पावर कम्पनी र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन बरुण हाइड्रोपावरको शेयरमूल्य पनि करिब १० प्रतिशत बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ । कारोबारमा आएको ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य यस दिन सर्वाधिक ९।३० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको यस दिन ९१ करोड २३ लाख ९० हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, युनिभर्सल पावर कम्पनीको ६४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको साढे ४९ करोडबराबरको शेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १।१३ प्रतिशत बढेको छ । कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।०४ प्रतिशत घटेको छ ।
प्रतिक्रिया दिनुहोस्