आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाईदै

काठमाडौं, २२ जेष्ठ । आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाईदै छ । प्रत्येक वर्ष जून ५ मा यो दिवस मनाइन्छ । यसको ऐतिहासिक पृष्ठभूमिलाई अध्ययन गर्ने हो भने वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले सन् १९७२ को ५ देखि १६ जूनसम्म संयुक्त राष्ट्रको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जून १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन शुरू गरिएको हो । यस दिवसले वातावरण संरक्षणको लागि जागरूकता ल्याउन प्रोत्साहित गर्दछ ।

यस वर्ष संयुक्त राष्ट्रसंघले तय गरेको विश्व वातावरण दिवसको नारा ‘प्लाष्टिक प्रदूषणलाई हराउनुहोस्’ रहेको छ । नेपाल सरकारले ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नारा तय गरेको छ । विश्व वातावरण दिवस २०२५ को विषयवस्तु प्लाष्टिक प्रदूषण अन्त्यमा केन्द्रित छ । यो विषयवस्तुले देखिने फोहोरदेखि माइक्रोप्लाष्टिकसम्म प्लाष्टिक प्रदूषणको व्यापक प्रभावहरूलाई विशेष जोड दिनेछ, र प्लाष्टिकको प्रयोगलाई कम गर्न, पुनः प्रयोग र पुनर्विचार गर्न समाधानहरूलाई प्रोत्साहित गर्नेछ । प्लाष्टिक मुक्त समाज आजको आवश्यकता हो र यसको लागि सबैले हातेमालो आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्