निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद १ दिन थप
काठमाडौं,२१ जेष्ठ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । अब यस ऋणपत्रमा बिहीबार जेठ २२ गतेसम्म आवेदन दिन सकिन्छ । यसअघि बैंकले आज जेठ २१ गतेसम्म ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने जनाएको थियो । यसैबीच जेठ १८ गते भोटो जात्राका लागि उपत्यकाभित्र सार्वजनिक विदा दिइएकाले बिक्री अवधि १ दिन थप गरिएको बैंकले जनाएको हो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बाँकी २० लाख इकाईमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमध्ये १ लाख इकाई ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । (निफ्रा)ले ७ वर्ष अवधिको “६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८–८९” नामको ऋणपत्र निष्कासन गरेको हो ।
निफ्राले यसमा वार्षिक ६ प्रतिशत ब्याजदर दिने छ । यसमा एनआइएमबी एस क्यापिटल लिमिटेडलाई ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक तोकिएको छ ।
यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्