कर्मचारीले धर्ना दिदै, २५ गतेदेखि कालोपट्टी नै बाँध्ने

काठमाडौं, २० जेष्ठ। कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन ल्याउन दबाब दिन संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जालले आज पनि धर्नालाई निरन्तरता दिएको छ ।

युनियनले संघीय संसद भवनको पश्चिम गेटमा आयोजना गर्ने भनिएको धर्ना कार्यक्रमलाई संशोधन गर्दै आजै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन्। आज बसेको आन्दोलन निर्देशक समितिको बैठकले धर्ना कार्यक्रमलाई जेष्ठ २३ गतेसम्म निरन्तर रूपमा सञ्चालन गरिने निर्णय गरेको छ ।

जेष्ठ २५ गतेदेखि अर्को निर्णय नभएसम्म देशभरका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूले कालोपट्टी बाँधी सेवा प्रवाह गर्ने पनि निर्णय गरेको छ।

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टको अध्यक्षतामा सम्पन्न बैठकमा विभिन्न कर्मचारी संगठनका अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति थियो।

बैठकमा नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवाल, नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष प्रभास प्रसाद साह, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष यमबहादुर खत्री, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालका अध्यक्ष शरण कुमार गुरुङ, तथा नेपाल मधेशी निजामती कर्मचारी मञ्चका महासचिव रविशंकर पाण्डे सहभागी थिए।

आज दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी थप आन्दोलनका कार्यक्रम घोषणा सँगै आफ्ना एजेण्डाबारे जानकारी गराउन पत्रकार सम्मेलन तय गरिएको छ ।

कर्मचारीमैत्री संघीय निजामती सेवा ऐनको माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन् । आजै संसदमा निजामति विधेयक पेश हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्