युक्रेनले रूसका विभिन्न एयरपोर्टमा आक्रमण, ४० बढि जहाज ध्वस्त

काठमाडौं,१९ जेठ । युक्रेनले रूसमाथि सुरु भएयताकै ठूलो आक्रमण गरेको छ ।

आइतबार युक्रेनले रूसी हवाई अड्डाहरूलाई लक्ष्य गरेर अहिलेसम्मकै ठूलो परिमाणमा ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार युक्रेनले रूसको पूर्वी साइबेरियादेखि पश्चिमी सिमासम्म ड्रोन हमला गरेको थियो । युक्रेनको यो हमलालाई अहिलेसम्मको समन्वयात्मक र सटिक हमला भनिएको छ ।

हमलाको रणनीतिको निरीक्षण राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफैले निरीक्षण गरेका छन्।

युक्रेनी ड्रोन हमलाबाट रूसका धेरै हवाइ अड्डाहरुमा सैन्य विमानहरू जलिरहेका फोटो र भिडिओहरू समेत सार्वजनिक भएका छन्।

आइतबार रूसले युक्रेनको सैन्य इलाकालाई लक्ष्य गरेर हवाइ आक्रमण गरेको थियो । जुन हमलामा १२ सैनिक मारिएका थिए भने युक्रेनले त्यसको बदलामा रूसको हवाई अड्डालाई लक्ष्य बनाएको भनेर न्यूयोर्क टाइम्सले लेखेको छ ।

रूसी रक्षा मन्त्रालयले युक्रेनी ड्रोनहरूले ‍रूसका पाँच ठाउँका हवाई अड्डालाई लक्ष्य बनाएको बताएको छ । नर्वेको सीमानजिकको मर्मन्स्क, पूर्वी साइबेरियाको इरकुत्स्क लगायत विभिन्न राज्यका हवाई अड्डाहरुमा सैन्य विमानहरूमा आगो लागेको रूसी रक्षा मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेस (एपी) ले युक्रेनले प्रहार गरेको ड्रोनले रूसका विभिन्न हवाई अड्डामा रहेका ४० वटाभन्दा बढि जहाजमा क्षति पुगेको जनाएको छ । ए-५०, ट्युपोलेभ टीयू-९५ र टियू-२५ जहाजहरू युक्रेनी ड्रोन हमलाबाट ध्वस्त भएको बताइएको छ ।

आक्रमणबाट मानवीय क्षति भने नभएको मन्त्रालयलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

एपीका अनुसार युक्रेनले रूसी भूभागबाटै रूसमा हमला गरेको थियो। त्यसका लागि ड्रोनहरू तस्करी गरेर रूस पुर्‍याएको थियो ।

ड्रोनहरू रूसी भूभागमा पुर्‍याएपछि त्यहाँ रहेका काठका घुम्ती घरहरूमा लुकाएर राखिएको र त्यहीँबाट निशाना लगाइएको एपीले जनाएको छ ।

ुड्रोनहरू तस्करी गरेर रूस पुर्‍याउनु कम जोखिमपूर्ण काम थिएन । त्यहाँ लगेर काठले बनाइएका घुम्ती घरहरूमा राख्यौं । त्यसपछि रूसी हवाइ अड्डाहरूमा लक्ष्य गरेर रिमोटबाटै प्रहार गर्‍यौं,ु एकजना युक्रेनी उच्च सैन्य अधिकारीलाई उद्धृत गरेर एपीले लेखेको छ ।

राष्ट्रपति जेलेन्स्कीले आइतबार ११७ वटा ड्रोनले रूसी हवाई अड्डामा हमला गरिएको बताएका छन्।

यसले टर्कीको इस्तानबुलमा सोमबार दुई देशका अधिकारीहरूबीच हुने भनिएको वार्ता पनि अनिश्चित बनेको छ ।

इस्तानबुलमा अघिल्लो पटक भएको वार्तामा युद्धविरामबारे छलफल र निर्णय भएको थिएन । त्यतिबेला युद्धविरामको प्रस्तावबारे दुवै देशका अधिकारीहरूले आ-आफ्ना देशका उच्च अधिकारीहरूसँग छलफल गर्ने भनेका थिए ।

त्यो छलफलपछि दुवै देशले १/१ हजार युद्धबन्दी छाडेका थिए । वार्ता भएकै भोलिपल्ट पनि रूसले युक्रेनमाथि आक्रमण गरेको थियो । उसले राजधानी किभलाई लक्ष्य गरेर ड्रोन र मिसाइल हमला गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चर्को आलोचना गरेका थिए ।

ट्रम्पले पुटिनलाई पागल समेत भनेका थिए भने युक्रेनमा आक्रमण गरिरहे त्यसको ठूलो मूल्य चुकाउनुपर्ने धम्की दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्