राजावादीको प्रदर्शनमा लाठीचार्ज, प्रदर्शनकारीहरु घाइते

काठमाडौं, १७ जेष्ठ । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेको छ। उक्त आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत दलहरूको समर्थन छ।

राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत माग राखेर सुवेदी नेतृत्वको समितिले जनआन्दोलन गरिरहेको छ।

काठमाडौंको नक्सालस्थित नारायणचौरबाट बालुवाटार जान खोज्दा प्रहरीले अवरोध गरेको थियो ।

प्रदर्शनकारी जबरजस्ती बालुवाटार जान खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको हो ।

प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शनको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरूले १५ जेठदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् ।

सरकारले धरपकडको नीति लिएको भन्दै राजावादीहरुले आक्रोश समेत पोखे । अहिले नक्सालस्थित प्रहरी हेडक्वार्र्टर अगाडिको सडकमै राजावादी प्रदर्शनमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्