कर्मचारी युनियनले निजामती विधेयकमा ६ बुँदे सुधारको माग राख्दै घेरे देउवा निवास
काठमाडौं, १७ जेष्ठ । निजामती विधेयकमा सुधार र संशोधनको माग राख्दै नेपाली कांग्रेसनिकट कर्मचारी युनियनले सभापति शेरवहादुर देउवालाई घेरेको छ । विधेयकका केही प्रावधानमा असहमति जनाउँदै यु्नियनले आफ्नो सुझाव सभापति देउवालाई बुझाएको युनियनका सचिव झविन्द्र पोखरेलले बताए ।
नेपाल निजामती कर्मचारी युनियनको टोली निजामती विधेयकका सन्दर्भमा विभिन्न मागसहित आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेको उनले बताए ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा संघीय निजामती सेवा विधेयक पेश गर्ने कार्यसूची छ । यही मेसोमा युनियनले विधेयकमा सुधार गर्नुपर्ने विभिन्न मागबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको हो ।
युनियनका नेताहरुसँग सभापति देउवाले निजामती कर्मचारीले उठाएका सरोकारका विषयमा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडालाई बोलाएर आफूले निर्देशन दिने बताएका थिए ।
तर विधेयक संसदको कार्यसूचीमा गइसकेकाले अब सत्तारुढ र विपक्षी दलहरुसँग छलफल गरेर ‘फूल हाउस’बाटै संबोधन गर्न सकिने उनको भनाइ छ ।
युनियनले निम्न बुँदालाई प्रमुख एजेण्डा बनाएको छ ।
– अतिरिक्त सचिवको कार्यकाल तोक्नुपर्ने
– ५८ वर्षबाट ६० वर्ष बनाउँदा क्रमश ६ महिना एक वर्ष र दुई वर्ष गरेर गर्नुपर्ने
– एकपटकलाई अन्तर प्रदेश सरुवा खुला गरी आगामी दिनमा सोलाई व्यवस्थित गर्न प्रत्येक प्रदेशले जनसङ्ख्याको आधारमा आफ्नो आवश्यकता अनुसार समावेशी कोटा निर्धारण गर्नुपर्ने
– १२ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरूको एक श्रेणी बढुवा गर्नुपर्ने
– उपसचिव तथा सहसचिवको परीक्षा दिँदा साविककै पाँच वर्षे सेवा अवधि लागू गर्नुपर्ने
– निजामती कर्मचारीको परिभाषा अन्तर्गत संघ प्रदेश र स्थानीय तहका कर्मचारीलाई पनि समेटी एक आपसमा अन्तरसम्बन्ध कायम गर्नुपर्ने
प्रतिक्रिया दिनुहोस्