सरकारका गलत कामको आलोचना गर्न नसक्ने गरी कांग्रेस कुन दिशामा जाँदैछ: डा. शेखर
काठमाडौं, १६ जेष्ठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले सरकारले गरेको गलत कामको विरोध जनाउन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । बागमतीका प्रजातन्त्र सेनानीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सरकारमा छ भन्दैमा गलत काममा मौन बस्न नहुने बताए ।
उनले दोहोर्याए, ‘हामी सरकारमा छौँ तर सत्तामा छैनौं । राज्यको सत्ता बेग्लै कुरा हुन्छ । मन्त्रीहरूले सहकार्य गरुन् तर बाहिर बसेका हामीहरूले असललाई असल र खराबलाई खराब भनौँ ।’
उनले सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भए पनि कार्यान्वयन पक्ष कमजोर भएको बताए । उनले थपे, ‘राम्रो कामलाई हामीले राम्रो भन्नुपर्छ तर गलत कामलाई गलत भन्नै नसक्ने हो भने हामी विपीका अनुयायी र कांग्रेसका कार्यकर्ता हुँदैनौं । म कसैको आलोचना गर्न आएको होइन, तर अत्यन्त पीडा भएर बोल्दैछु ।’
उनले गणतन्त्रमा ३ जना नेताको म्युजिकल चेयरबाट निराश भएका युवा राजा फर्काउने आन्दोलनमा सहभागी हुन थालेको दाबी गरे । नयाँ पुस्तालाई राजाको शासनकालबारे थाहा नभएको तर अहिलेको अवस्थाबाट निराश बनेको उनको भनाइ छ ।
एमाले र राजावादीको आन्दोलनलाई तुलना गर्दै उनले भने, ‘हाम्रो आचरण मिलेका छैन, युवाहरू निराश छन्, उनीहरूको बाटो खोजिरहेका छन्, उनीहरूले देख्या छैनन् राजाको शासन काल । उनीहरूले यही तीन जनाको म्युजिकल चियर मात्रै देखेको छ । यो कुरालाई हामीले मनन गर्न सक्नुपर्छ ।’
उनले राम्रो काम गर्न नसके सरकारलाई नराम्रो पनि नगर्न सुझाए ।
प्रतिक्रिया दिनुहोस्