एशियन लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका शेयरमूल्य समायोजन

काठमाडौं,१५ जेठ । बिहीबार, नेपाल स्टक एक्सचेञ्जमा दुई इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेमा एशियन लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले यस दिन एशियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ५२० रुपैयाँ ३ पैसा र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५१२ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी इन्स्योरेन्सहरुको शेयरमूल्य समायोजन गरेको हो । बुधबार, दोस्रो बजारमा एशियन लाइफ इन्स्योरेन्सको अन्तिम शेयरमूल्य ६९६ रुपैयाँ ४४ पैसा र प्रभु महालक्ष्मीको ५५३ रुपैयाँ ५९ पैसा कायम भएको थियो । यहि समायोजित मूल्यलाई आधार मानेर आगामी आइतबार दोस्रो बजारमा यी इन्स्योरेन्सहरुको शेयर कारोबार खुल्नेछ ।

एशियन लाइफ इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँको दरले शेयर जारी गर्न लागेको हो । इन्स्योरेन्सले एक अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको एक करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । इन्स्योरेन्सको उक्त दरको हकप्रद जारी गर्ने निणर्य १६औँ वार्षिक साधारण सभाबाट पारित भएको थियो ।

त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जेठ २६ गते, सोमबार, आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्