भिजिट भिसा प्रकरणमा गगनको भनाई: जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्ने कुरा बाञ्छनीय हुन्छ
काठमाडौं, १४ जेष्ठ। पछिल्लो समय चर्चामा रहेको भिजिट भिसा प्रकरणबारे नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो धारणा दिएका छन्। बुधवार नेपाली कांग्रेसको धरान उप–महानगर सम्मेलनमा बोल्दै महामन्त्री थापाले तीन बुँदे धारणा दिएका हुन्।
‘राज्यको जिम्मेवारीमा रहेका अधिकारी तथा निकायहरूबाट अख्तियारको दुरुपयोग गरी भिजिट भिसाका नाममा सयौँ नेपाली नागरिक ठगिएका, शोषणमा परेका सन्दर्भमा सार्वजनिक भइरहेका प्रकरणहरूले यो विषय कुन हदसम्म विकराल रहेछ र यसको जालो कहाँसम्म फैलिएको रहेछ भन्ने तथ्यले हामी सबैलाई स्तब्ध बनाएको छ,’ महामन्त्री थापाले भने,‘नागरिक सुरक्षा र संरक्षणको जिम्मेवारी लिएका राज्यका अधिकारीहरूकै मिलेमतोमा भएका यी हर्कतहरू गैर कानुनी त छँदै छन्, अमानवीय पनि छन् ।’
यस्तो कुकृत्यमा संलग्न जोसुकै होस् भए पनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने उनले बताए। उनले भने, ‘जुनसुकै पद, तह र तप्काको होस्, राजनीतिक नेतृत्व होस् वा प्रशासनिक होस्, पर्दा अगाडिको होस् वा पछाडिको होस् सबै कारबाहीको दायरामा ल्याउनै पर्छ । कोही पनि उम्कन हुँदैन, उम्कन पाउँदैन,’ महामन्त्री थापाले भने।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा थालेको अनुसन्धान ‘कुनै शक्तिको भक्ति नगरी’ अगाडि बढाउन पनि उनले आग्रह गरे। उनले भने, ‘।।निर्भीक भएर तथा भिडको दबाब वा प्रभावमा नपरी निष्पक्ष ढङ्गले अख्तियारले अनुसन्धानलाई अगाडि बढाउनुपर्छ ।’ अनुसन्धानमा ‘जो जो परे पनि, जहाँसम्म पुगे पनि, जरा, हाँगा बिँगा सबै खोज्नुपर्ने महामन्त्री थापाले बताए।
यो विषयमा गृहमन्त्री रमेश लेखकको नाम पनि जोडेर भइरहेको चर्चा–परिचर्चा र राजीनामाको विषयमा भइरहेको बहसबारे पनि महामन्त्री थापाले धारणा राखेका छन्।
जसमा उनले राज्यको जिम्मेवारीमा रहेका व्यक्तिबाट भ्रष्टाचारजन्य काम भए त्यसको अनुसन्धान र अभियोजन गर्ने जिम्मा संविधानले नै अख्तियारलाई दिएको भनेका छन्। अख्तियारको नियमित प्रक्रियामा सबैले सहयोग गर्नुपर्ने पनि बताए।
‘वर्तमान सरकारकै पनि दर्जनौँ मन्त्रालयका सयौँ अधिकारी माथि अहिले अनुसन्धान भई रहेको छ,’ उनले भने, ‘जुन निकाय वा जो माथि अनुसन्धान भइरहेको छ सम्बन्धित विषयसँग उनीहरू नै जोडिन्छ।’ अनुसन्धानका क्रममा नयाँ तथ्य र प्रमाणहरू प्राप्त भए अनुसन्धानको दायरामा अन्य जिम्मेवार प्रशासनिक वा राजनीतिक अधिकारीहरू थपिँदै जाने उनले बताए। ‘यस्तो अवस्था नआउँदा वा नहुँदासम्म अनुसन्धानको दायरामा नपरेका प्रशासनिक वा राजनीतिक नेतृत्वलाई जिम्मेवार ठह¥याउने विषय न त कानुनी हिसाबले उपयुक्त हुन्छ न त न्यायोचित नै हुन्छ,’ उनले भने। हिजोका दिनमा आफूले यही कुरा भनेको र यो भिजिट भिसा प्रकरणमा पनि यही भन्ने उनले दाबी गरे।
गृहमन्त्री लेखकले विगतमा प्राप्त जिम्मेवारी इमानदारिता र कुशलतापूर्वक निर्वाह गर्दै आएको बताउँदै गृहमन्त्रीको जिम्मेवारी पनि त्यसरी नै निर्वाह गरिरहेको विश्वास महामन्त्री थापाले व्यक्त गरे।
‘र, अहिले उहाँमाथि उठेका प्रश्नहरूमा पनि बेदाग हुनुहुन्छ भन्ने हाम्रो पूर्ण विश्वास हो,’ उनले भने। तर कानुनी राज्यमा कसैको विश्वास वा आग्रह भन्दामाथि तथ्य र प्रमाण हुने पनि उनले बताए।
‘भिजिट भिसा प्रकरणमा भइरहेको अनुसन्धान गृहमन्त्रीसम्म पुग्छ भने, अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जान्छ,’ महामन्त्री थापाले भने, ‘त्यस्तो अवस्थामा भने मन्त्रीको जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्ने कुरा वाञ्छनीय हुन्छ र उहाँले यसो नै गर्नुहुन्छ भन्ने पनि मलाई उत्तिकै विश्वास छ ।’
प्रतिक्रिया दिनुहोस्