गजामा इसराइलको हवाइ आक्रमण, ३० जनाको मृत्यु
काठमाडौं,१२ जेष्ठ । इजराइली हवाइ आक्रमणमा गजामा एक पत्रकारसहित कम्तिमा ३० जनाको मृत्यु भएको छ ।
आइतबार गजापट्टिको जबालिया क्षेत्रमा इसराइलले गरेको हवाई आक्रमणमा परी कम्तिमा ३० जनाको मृत्यु भएको गजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस आक्रमणबाट मारिनेमा एक जना पत्रकार र उद्धारमा खटिएका वरिष्ठ अधिकारी पनि छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकार हसन मज्दी अबु वार्दाको मृत्यु भएको छ ।
नुसेरातमा भएको अर्को हवाई आक्रमणमा त्यस क्षेत्रको नागरिक आपतकालीन सेवाका एक वरिष्ठ अधिकारी अशरफ अबु नार र उनकी श्रीमतीको मृत्यु भएको रोयटर्सले जनाएको छ ।
सन् २०२३ को अक्टोबर ७ यता गजामा २२० जना पत्रकारहरू इसराइली हमलामा मारिएको तथ्यांक छ ।
इजराइली सेनाका चिफ अफ स्टाफ इयाल जामिरले आइतबार खान युनिसमा इजराइली सैनिकहरूलाई भेटेर गजाको युद्ध अनन्त नभएको बताएका थिए । उनले हमासका कमान्ड सेन्टर अधिकांश ध्वस्त पारिएको पनि बताएका थिए । हामी बन्धकहरूलाई घर ल्याउन, हमासलाई ध्वस्त पार्न हामीसँग भएका सबै उपकरण प्रयोग गर्नेछौं, जामिरले भनेका छन्।
इजराइलको हवाई हमलापश्चात अन्तर्राष्ट्रिय रेड क्रस सोसाइटीले विज्ञप्ती जारी गर्दै आफ्ना दुई अधिकारी मारिएको बताएको छ । गजामा ठूलो संख्यामा नागरिकहरू मारिएको र यस्तो अवस्थालाई अन्त्य गर्न तत्काल युद्धविराम गर्न आवश्यक रहेको छ ।
उनीहरुले जमिनबाट पनि बमबारी गर्दै घरहरू ध्वस्त पारेको र त्यहाँबाट मानिसहरूलाई विस्थापित गरेको बताएको छ ।
हमास र इस्लामिक जिहादको सशस्त्र शाखाले आइतबार छुट्टाछुट्टै विज्ञप्ति निकालेर गजाका धेरै क्षेत्रहरूमा कार्यरत इजरायली सेनाविरुद्ध बम र ट्याङ्क विरोधी रकेट आक्रमण गरिएको बताएको छ ।
गजामा युद्धविरामका लागि पहल भइरहेको भए पनि ठोस परिणाम आउन सकेको छैन । यसअघि ४२ दिने युद्धविरामताका एक सयको हाराहारीमा बन्धकहरूलाई हमासले रिहा गरेको थियो । अझै ५० भन्दा बढी मानिसहरू हमासको बन्धकमा छन्। तीमध्ये केहीको मृत्यु भइसकेको आकलन छ ।
प्रतिक्रिया दिनुहोस्