भिजिट भिसा प्रकरण प्रमाणित भए राजनीति छाड्ने होइन, जेल जानुपर्छः रास्वपा

काठमाडौं, ११ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पन्छिन नमिल्ने बताएको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै कार्यबाहक प्रवक्ता मनीष झाले बताएका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले गृहमन्त्री लेखकको संलग्नता पुष्टि भए राजनीति छाड्ने नभइ जेल जाने प्रक्रिया सुरु हुने बताए ।

सो प्रकरणबारे बोल्दै शनिबार गृहमन्त्री लेखकले संलग्नता पुष्टि गर्न चुनौती दिएका थिए । साथै, उनले संलग्नता पुष्टि भए आफू राजनीतिबाट बिदा हुने पनि बताएका थिए ।

त्यसबारे जवाफ दिँदै प्रवक्ता झाले भने, ‘प्रमाणित भए राजनीति छाड्ने होइन, जेल जाने हो । प्रमाणित भएपछि जेल त जानैपर्छ । त्यसका लागि राजनीति नछाडि हुँदै हुदैन ।’

उनले यस प्रकरणमा सरकारी कर्मचारीबाटै बदमासी हुने पनि बताए ।

‘बदमासी त कर्मचारीबाटै हुन्छ नि । उहाँ आफैं गएर त्यहाँ टाँचा लगाउने त होइन । कसको कार्यकालमा भयो ?उसको सरुवा कसले गरायो ? सरुवा गराउँदा कार्यविधि मिलेको थियो कि थिएन ? भन्ने कुरा आउँछ,’ उनले भने, ‘टाँचा लगाउने काम मेरो होइन त्यसकारण संलग्नता थिएन भन्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्