१५ गतेको राजावादीको आन्दोलन निस्तेज पार्न नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको कार्यकर्तालाई निर्देशन, भने काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्दछ
काठमाडौं, ११ जेष्ठ । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी ओलीले राजावादीहरूले काठमाडौंमा जेठ १५ गते गर्ने भनेको आन्दोलन एमालेले सफल हुन नदिने बताएका छन् ।
नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वाग्मती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादीको नाममा आतङ्क मच्चाउनेलाई कुनै स्थान नदिइने स्पष्ट पारे ।
‘तथाकथित राजावादीहरू, यी राजावादी साजावादी केही पनि होइनन्, यी खाओवादी हुन्’, ओलीले भने ।
हाम्रो राजा, हाम्रो देश प्राण भन्दा प्यारो छ भनेर नारा लगाउनेहरू नारायणहिटीमा वीरेन्द्र मारिँदा किन बाँचिरहेका भन्दै उनले प्रश्न गरे । ‘प्राणभन्दा प्यारो छ भने वीरेन्द्रलाई त्यत्रो हत्या गर्दा यिनीहरू कहाँ गएका थिए, किन मरेनन् त रु’, उनले प्रश्न गरे ।
राजावादीहरू कुनै उद्देश्यको लागि नलडेका उनले बताए । केबल साना स्वार्थका लागि उनीहरू लडिरहेका ओलीले स्पष्ट पारे ।
‘सरकार र जनता अलिकति मौन बसेकाले अनावश्यक फुर्तिफार्ति देखाएका छन्, एमाले मैदानमा उत्रिए पछि यिनीहरू कता कता जान्छन्’, उनले भने ।
एमालेलेका नेता कार्यकर्ताले आफूलाई चिनेर आफूलाई त्यहीअनुसार तयारी अवस्थामा राख्नु पर्नेमा उनले जोड दिए । जेठ १५ गतेका लागि वडाध्यक्षहरूको प्रशिक्षण सकिने बित्तिकै तयारी थाल्न ओलीले निर्देशन दिए ।
‘म साथीहरूलाई भन्न चाहन्छु–निर्देशन पछि आउला, १५ गतेका लागि भोलि यहाँबाट उठ्ने बित्तिकै तयारी थाल्नुस्, १५ गते के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ, कसरले थाम्छ ? कसले रोक्छ ? निर्देशन पछि आउँछ, तपाईँहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुस्, १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्दछ, कसरी कुन संस्था अगाडि लाग्छ त्यो छाडिदिनुस्, आन्दोलनमा प्रोटोकलका कुरा हुँदैन, सबै एकै हो, अगाडि बढौँ, आन्दोलनमा हामी सबै त्यस अनुसार तयारीमा लगौँ’, ओलीले भने ।
प्रतिक्रिया दिनुहोस्