भिजिट भिसामा रकम असुली गरिएको प्रकरण: मन्त्रालय र मन्त्रीकोे कुनै संलग्नता छैन, छानबिन र अनुसन्धानमा पूर्ण सहयोग हुन्छ
काठमाडौं, १० जेष्ठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको शंका आशंकालाई रिर्दै गृह मन्त्रालयका सहसचिव छवि रिजालले शनिबार एक विज्ञप्ति जारी कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको दाबी गरेको छ ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालले शनिबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको शंका गरिएको छ ।
उक्त प्रकरणमा गृहमन्त्रालय र मन्त्री लेखकप्रति जोडेर आएका समाचारप्रति आपत्ति जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं ।’
मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ । ‘मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यहरू समेत गर्दै आइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
त्रिवि विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीबारे अनुसन्धान पूरा भएपछि सत्यतथ्य ब्यहोरा बाहिर आउने उल्लेख गर्दै विज्ञप्तिमा छानबिन र अनुसन्धानमा पूर्ण सहयोग हुने बताइएको छ । यही विषयमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप कर्मचारीतर्फ पनि अनुसन्धान सोझ्याएको छ ।
आयोगले छानबिन गरिरहेका बेला शुक्रबार मन्त्रालयले कम्तिमा १४ कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । विमानस्थल अध्यागमनबाट हटाइएकाहरूमध्ये अधिकांश नायब सुब्बा छन् ।
कतिपय अधिकारीहरूले अख्तियारको अनुसन्धान चलिरहेका बेला ती कर्मचारीलाई मन्त्रालयबाट हटाउनुले थप शंका बढाएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्