माओवादीसँग एकताको विषयले महिन्द्रराय नेतृत्वको नेसपामा भाँडभैलो
काठमाडौं, ८ जेष्ठ । डा. बाबुराम भट्टराईले माओवादीसँग एकता नगर्ने अडान लिएपछि पार्टी फोडेर हिँडेको महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)मा पनि भाँडभैलो सुरु भएको छ।
सहअध्यक्ष गंगानारायण श्रेष्ठ पक्षले माओवादीसँग तत्कालै एकता गर्ने तयारी गरेको छ। श्रेष्ठ पक्षले माओवादीसँग १२ गते एकता गर्ने तयारीस्वरुप ११ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। तर, यादव पक्ष तत्काल माओवादीसँग एकता गर्ने पक्षमा छैनन्।
श्रेष्ठ पक्षले बैठक बोलाएपछि महासचिव रमेश यादवले विज्ञप्ति जारी गर्दै ११ गतेको बैठक आधिकारिक नभएको बताइसकेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल समाजवादी पार्टीको नाममा २०८२ जेष्ठ ११ गते केन्द्रीय समितिको बैठक भनी प्रचार गरिएको जानकारीमा आएको हुँदा उक्त मितिमा पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ। नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच एकताको सन्दर्भमा रूपान्तरणसहित एकता गर्न दृढ रहेको जानकारी गराउँदछु।’
‘हामीले बोलाएको बैठकमा दुई तिहाइ आउँछन्’
यादवले विज्ञप्ति जारी गरेपछि हामीले सहअध्यक्ष श्रेष्ठलाई सोध्यौँ। उनले माओवादीसँग १२ गते एकता गर्नको लागि बैठक बोलाएको बताए।
उनले नेपाल प्रेससँग भने, ‘उहाँहरूले विज्ञप्ति के भनेर निकाल्नुभयो हामीलाई थाहा छैन, हामीले ११ गतेको लागि बैठक बोलाएका छौँ। एकता प्रक्रियामा जाने निर्णय लिन्छौँ।’
उनले माओवादीसँग १२ गते एकता गर्नेबारे अध्यक्ष यादवसँग कुराकानी नभएको स्वीकारे।
उनले थपे, ‘उहाँ मधेशतिरै हुनुहुन्छ क्यारे। यो विषयमा कुरा भएको छैन। हामीले बोलाएको बैठकमा पार्टीको दुई तिहाइ केन्द्रीय सदस्य सहभागी हुनुहुन्छ।’
यादव पक्षले पनि राख्यो नाम फेर्नुपर्ने अडान
महासचिव यादव भने आफूहरू एकताको पक्षमा भए पनि श्रेष्ठ पक्षका नेताहरूले केही हतार गरेको बताए। उनले श्रेष्ठ पक्षले ११ गतेको लागि बोलाएको बैठक आधिकारिक नभएको जिकिर गरे।
उनले नेपाल प्रेससँग भने, ‘पार्टी एकताको लागि नै हामीले बाबुरामजीसँग विद्रोह गरेका हौँ। उहाँ एकता नगर्ने पक्षमा हामी पक्षमा तर एकता गर्न हाम्रो माओवादीसँग केही शर्त थियो। पार्टीको नाम रूपान्तरण गर्ने, माओवादी हटाउने, नेकपा समाजवादी राखेर जाने भन्नु कुरा भएको थियो। त्यो नभई हामीले एकता हुँदैन भनेका हौँ।’
उनले श्रेष्ठसहित केही नेताहरूले हतार गरिरहेको भन्दै रोक्न प्रयास नगर्ने तर नमाने माओवादी प्रवेश गर्न स्वतन्त्र रहेको बताए।
महासचिव यादवले भने, ‘उहाँहरूले एकता महाधिवेशन गरेर नाम र चुनाव चिन्ह टुंग्गो लगाउने कुरा गर्नुभएको थियो। महाधिवेशनसम्म हामी पर्खेर जाने, नभए पदाधिकारी बैठकबाट महाधिवेशनबाट नाम परिवर्तन गरेर जाने परिपत्र भयो सबै जाने भन्ने कुरा हो। तर केही साथीहरूले अहिले हतार छ। प्रवेश नै गरिहालौँ भनेर लागिराख्नुभएको छ। बैठक बसिराख्नुभएको छ, उहाँहरूलाई रोक्ने प्रयास गर्ने हो जाने स्वतन्त्रता छ।’
उनले पार्टीको बैठक अध्यक्षको सल्लाहमा महासचिवले बोलाउने विधान रहेकाले श्रेष्ठ पक्षले राखेको बैठक आधिकारिक नभएको उनको दाबी छ।
उनले थपे, ‘११ गते बिहान हामीले प्रचण्डजीलाई छलफल गरौँ भनेका छौँ। म गंगाजीलाई पनि लिएर जान्छौँ छलफलपछि के निष्कर्ष आउँछ भन्ने हो।’
उनले भोलि आफूले सहअध्यक्ष श्रेष्ठसँग पनि छलफल गर्ने र आफूहरूको शर्त माओवादीले स्वीकारे पार्टी प्रवेश भन्दा पनि एकता प्रक्रियाबाटै अघि बढ्ने बताए।
उनले प्रचण्डसँग कुरा मिले पनि १२ गते एकता सम्भव नभएको जिकिर गरे। उनले आफूहरू माओवादीकै चुनाव चिन्हबाट लडेको भन्दै प्रचण्डसँग मुद्दा र एजेन्डा मिलिरहेको पनि सुनाए। उनले थपे, ‘हामी एकता त गर्छौँ नै तर प्रवेश होइन। सबै साथीहरूको सम्मानजनक व्यवस्थापन गराएर जाने हो। ’
भनेपछि पार्टीको नाम नफेरी एकता हुँदैन भन्नेमा तपाईँको पार्टी अध्यक्ष पनि सहमत हुनुहुन्छ रु भन्ने जिज्ञासामा उनले थपे, ‘हुनुहुन्छ, नाम त फेर्नु पर्यो नि। अहिले पदाधिकारी बैठक राखेर नाम फेर्ने निर्णय गर्नुभयो भने हामी तयार नै छौँ नि।’
नाम फेर्ने प्रस्तावमा प्रचण्डको जवाफ
प्रचण्डले आफूहरूले बाबुरामसँग पनि एकता गर्ने भने पनि नाम फेर्ने प्रस्ताव गरेपछि असफल भएको बताएका छन्। अभियानका क्रममा रुकुम पूर्वमा पुगेका प्रचण्डले कम्युनिष्टको नाम नै सुन्न तयार नभएपछि एकता सम्भव नभएको प्रष्टीकरण दिए। उनले बाबुरामबारे खरो टिप्पणी पनि गरे।
प्रचण्डले भने, ‘उहाँले पछि कम्युनिष्टको नाम सुन्न चाहनुहुन्न । कम्युनिष्ट पार्टी नाम राख्ने हो भने म त एकता गर्दिनँ भनेपछि अब हामी के मर्ने ? बाबुरामको लागि ? कम्युनिष्ट पार्टी नभन्ने, मार्क्सवाद नभन्नेसँग के गरी एकता गर्ने ?’
भ्रममा परेर बाबुरामसँग भएका गङ्गानारायण श्रेष्ठ लगायतका थुप्रै नेताहरू माओवादीमा फर्किन तयार रहेको बताए।
प्रचण्डको यो अभिव्यक्तिबाट प्रचण्ड हुन्छ, तत्काल नेसपासँग एकता गर्नकै लागि माओवादी नाम फेर्न तयार छैनन्। माओवादीमा पार्टीको नाम फेर्नुपर्ने प्रस्ताव केही नेताहरूले राखेको भए पनि चर्को मतभेद छ।
यसअघि बाबुरामले नाम फेर्नुपर्ने अडान लिएपछि महेन्द्र पक्षलाई टुक्राएका प्रचण्डले अहिले श्रेष्ठ पक्षलाई पनि त्यसैगरी पार्टीमा भित्र्याउन खोज्दैछन् ।
प्रतिक्रिया दिनुहोस्