राप्रपा अध्यक्ष लिङ्देन ४० वर्षमुनिका युवाहरूसँग अन्तरसंवाद गर्दै

काठमाडौं, ८ जेष्ठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ४० वर्षमुनिका युवाहरूसँग अन्तरसंवाद गर्ने भएका छन्।

राप्रपासहितको समर्थनमा नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि जनआन्दोलन गर्न लागेको परिवेशमा अध्यक्ष लिङ्देनले युवाहरूसँग कुराकानी गर्न लागेका हुन्।

विभिन्न पेशा व्यवसायमा लागेका युवा र विद्यार्थीसँग अन्तरसंवाद गर्न लागिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

जेठ १२ गते काठमाडौंको राष्ट्रिय सभागृहमा संवाद कार्यक्रम हुनेछ।

अवस्था बदल्न व्यवस्था परिवर्तन किन भन्ने सन्दर्भमा युवाहरूसँग संवाद गर्न लागिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

कार्यक्रममार्फत युवाहरूमा रहेको राप्रपासम्बन्धी जिज्ञासा र प्रश्नहरूको समाधान गरिने राप्रपाका युवा विभागका प्रमुख प्रकाश रिमालको भनाइ छ।

राप्रपाले खोजेको राजसंस्था कस्तो हो, हिन्दू राष्ट्र पुनर्स्थापना र संघीयताको खारेजी गनुर्पर्ने कारण के हुन् भन्ने सन्दर्भमा पनि युवाहरूसँग अन्तरसंवाद गर्न लागिएको उनले बताए।

युवाका जिज्ञासालाई अध्यक्ष लिङ्देनले जबाफ दिनेछन्।

राप्रपाले प्रबुद्ध वर्ग, उपत्यकाका नेवाः समुदाय लगायतसँग छलफल गरिरहेको छ भने जेठ १५ गतेको आन्दोलनलाई लिएर उपत्यकाव्यापी कार्यकर्ता भेला गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्