नेपाल टेलिकमको नाफा घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं,५ जेष्ठ । नेपाल टेलिकम लिमिटेडले चालु आ.व. को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रयमाससम्ममा कम्पनीले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी सामान्य घटेपनि डिफर्ड ट्याक्स उल्लेख्य बढेका कारण खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ०.६४ प्रतिशत घटेर २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ४६.०२ प्रतिशत घटेको छ भने कुल आम्दानी ८.८९ प्रतिशत घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १९ रुपैयाँ ९६ पैसा घटेर २१ रुपैयाँ ५ पैसामा सीमित भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ५०३ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.७४ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्