नाउपाले कैलाश चौधरीलाई सुदूरपश्चिमको मन्त्री बनाउन नाम पठायो
काठमाडौं,३१ वैशाख । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सांसद कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाउन नाम दिएकी छन्।
अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेश संसदीय दलका अध्यक्ष घनश्याम चौधरीलाई पार्टीका तर्फबाट सुदूरपश्चिम सरकारमा पठाउने मन्त्रीको नाम दिएकी हुन्।
सुदूरपश्चिम प्रदेशको रिक्त रहेको मन्त्री तोक्न त्यहाँको संसदीय दलले केन्द्रसमक्ष आग्रह गरेको थियो । मंगलबार अध्यक्ष श्रेष्ठले मन्त्रीमा कैलाशलाई सिफारिस गरेकी थिइन्।
नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालय धनगढी कैलालीको पत्रानुसार तहाँको निर्णय बमोजिम सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री सिफारिसका लागि केन्द्रबाट आधिकारिक पत्र पठाइदिने अनुरोध भइआए बमोजिम सुदूरपश्चिम प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रीमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य कैलाश चौधरीलाई पार्टीको निर्देशन बमोजिम कामकाज गर्न भनी सिफारिस गरिएको अध्यक्ष श्रेष्ठले पठाएको पत्रमा भनिएको छ ।
अब कैलाशलाई मुख्यमन्त्रीले मन्त्रीका लागि सिफारिस गर्नेछन् भने प्रदेश प्रमुखले नियुक्त गर्नेछन्।
यसअघि पर्यटन, वन तथा वातावरण मन्त्री नाउपाकै लक्ष्मणकिशोर चौधरी थिए । तर अडियो प्रकरणमा मन्त्री विवादमा परेपछि उनले राजीनामा दिएका थिए । सुदूरपश्चिम प्रदेशमा नाउपाका सात जना सांसद छन्।
प्रतिक्रिया दिनुहोस्