हिमालयन रि इन्स्योरेन्सको नाफामा सामान्य बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं,३१ वैशाख । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आ.व. को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।

चालु आर्थिक वर्षका तेस्रो त्रमाससम्ममा कम्पनीले ९८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १९.७६ प्रतिशत बढेको छ भने कुल आम्दानी २१.७६ प्रतिशत बढेको छ । त्यसैगरि, कम्पनीको खुद दाबी भुक्तानी ४२.३७ प्रतिशत र कुल खर्च २४.७० प्रतिशत बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २७ पैसा बढेर १२ रुपेयाँ ६८ पैसा पुगेको छ । चैतको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ २४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८०.७३ गुणा रहेको छ ।

यस कम्पनीको चुक्ता पूँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको शेयर प्रिमियम ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ, विशेष जगेडा १ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ, महाविपत्ती कोषमा १६ करोड ४९ लाख रुपैयाँ रहेको छ । त्यस्तै, रिटेन्ड अर्निङ्गमा १ अर्ब २ करोड ८९ लाख रुपैयाँ र अन्य इक्विटीमा ३६ करोड ५० लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्