नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा सामान्य बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं,२८ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आ.व.को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।  प्रकाशित विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ६५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.६४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ११.६१ प्रतिशत बढेको छ भने कुल आम्दानी ११.५३ प्रतिशत बढेको छ । त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी १३.८३ प्रतिशत र कुल खर्च १३.०९ प्रतिशत बढेको छ ।

नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १२ पैसा घटेर ९ रुपैयाँ ६३ पैसामा सीमित भएको छ । चैतको अन्त्यसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ७०.०१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ८१ पैसा रहेको छ ।

९ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ३२ करोड ३१ लाख रुपैयाँ रहेको छ । त्यसैगरि, रिटेन्ड अर्निङ्गमा १ अर्ब १८ करोड ३८ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा ७२ करोड ५७ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया दिनुहोस्