चार करोड ३३ लाखको लागतमा निर्मित स्वास्थ्य भवन समुदायलाई हस्तान्तरण
काठमाडौँ २८ बैशाख। काठमाडौँ महानगरपालिकाद्वारा डल्लुस्थित सामुदायिक सेवा परिषद्को नवनिर्मित भवन समुदायलाई हस्तान्तरण गरिएको छ।
काठमाडौँ महानगरपालिका-१५ का वडाध्यक्ष ईश्वरमान डंगोलले एक समारोहबीच भवन परिषदका अध्यक्ष हरिगोपाल श्रेष्ठ मार्फत समुदायलाई हस्तान्तरण गर्नुभयो।करिब चार करोड ३३ लाखको लागतमा निर्मित पाच तल्ले भवनमा शल्यक्रिया कक्ष, विरामी भर्ना कक्ष सहितको भवनमा ३० शैया छन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ निकाय, संघ संस्थाहरुबाट जांच परिक्षण, शल्यक्रिया सम्बन्धी सामान, अस्पताललाई आवश्यक पर्ने अन्य महंगा स्वास्थ्य सामग्री प्राप्त भएको जनाइएको छ।
सो अवसरमा वडाध्यक्ष डंगोलले सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको सामुदायिक अस्पताललाई काठमाडौँ महानगरबासीको करबाट उठेको केही रकम सहयोग गरी भवन निमार्ण तथा हस्तान्तरण गरिएको बताउनुभयो।
उहाँले २५ शैयाको सामुदायिक अस्पताल संचालनका लागि महानगरपालिकाले स्वीकृति दिन सक्ने व्यवस्था रहेकाले नव निर्मित भवनबाट अब छिट्टै अस्पताल सुचारु हुने विश्वास व्यक्त गर्नुभयो।
करिब तीन दशकदेखि ओपिडी सेवा संचालन गरेको परिषदले विभिन्न आरोह अवरोह पार गर्दै अस्पताल संचालनको तयारी पूरा गरेको बताउनुभयो। सुपथ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी नमुना अस्पताल संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा परिषदका उपाध्यक्ष प्रध्यापक केशवबहादुर मानन्धरले रु ५० हजार रुपैयाँ सहयोग गर्दै परिषदले सामाजिक सुरक्षा प्राप्त ज्येष्ठ नागरिक, सिमान्तकृत, हिंसामा परेका नागरिकलाई निःशुल्क सेवा उपलब्ध गराएको जनाएको छ।
करिब साढे दुइ रोपनी क्षेत्रफल रहेको परिषदमा दश वर्ष लामो सेवा गरेका चिकित्सक तथा कर्मचारीलाई सम्मान गरिएको थियो। संस्थामा २७ चिकित्सक कार्यरत छन्।
प्रतिक्रिया दिनुहोस्