बिल गेट्सद्वारा आफ्नो सम्पूर्ण सम्पत्ति सामाजिक कार्यमा लगाउने र गेट्स फाउन्डेसनलाई पनि बन्द गर्ने योजना

काठमाडौ, २६ बैशाख । बिल गेट्सले आगामी २० वर्षभित्र आफ्नो लगभग सबै व्यक्तिगत सम्पत्ति दान गर्ने र गेट्स फाउन्डेसन बन्द गर्ने योजना बनाएका छन् । बिहीबार एक ब्लग पोस्टमा अर्बपति गेट्सले उक्त घोषणा गरेको सीएनबीसीले लेखेको छ । मेरो मृत्युमा, मानिसहरुले मेरो बारेमा धेरै कुरा गर्नेछन्, तर त्यसमध्ये ‘उनी धनी भएर मरे’ भन्ने कुरा भने म हुन दिनेछैन, ६९ वर्षीय गेट्सले लेखे ।

साथै गेट्सले भपे, ुमानिसहरुलाई सहयोग गर्न सकिने स्रोतहरू आफूसँग राखिरहनु भनेको अत्यावश्यक समस्याहरुको समाधानबाट टाढा रहनु होु । माइक्रोसफ्टका सहसंस्थापक गेट्सको कुल सम्पत्ति ब्लूमबर्गका अनुसार अहिले १६८ अर्ब अमेरिकी डलर अनुमान गरिएको छ । उनले आफ्नो अधिकांश सम्पत्ति परोपकारी कार्यका लागि दिने प्रतिबद्धता वर्षौंअघिदेखि नै जनाउँदै आएका छन् ।

सन् २०२२ को जुलाईमा सामाजिक सञ्जालमा लेख्दै उनले अन्ततः “विश्वका धनी व्यक्तिहरुको सूचीबाट हट्ने” लक्ष्य राखेको बताएका थिए । अहिले भने गेट्सले आफ्नो सम्पत्ति बाँडफाँड गर्ने एक विशेष समयसीमा तय गरेका छन् । गेट्स फाउन्डेसन २०४५ डिसेम्बर ३१ मा आफ्नो ढोका बन्द गर्ने तयारीमा छ । सन् २००० मा फाउन्डेसनको स्थापना भएदेखि यसले विश्वव्यापी परोपकारी कार्यहरुमा १०० अर्ब डलरभन्दा बढी योगदान गरिसकेको छ ।

विशेषगरी रोग र गरिबी उन्मूलन, जलवायु परिवर्तनलाई सम्बोधन गर्न र स्वास्थ्य सेवा र शिक्षामा पहुँच विस्तार गर्न गेट्स फाउन्डेसनले सहयोग गर्दै आएको छ । गेट्सका अनुसार फाउन्डेसनले उक्त दान रकमलाई दोब्बर पार्न सक्नेछ । यदि मुद्रास्फीति र बजारको प्रदर्शनजस्ता कारकहरु अनुकूल रहे भने अहिलेदेखि सन् २०४५ सम्ममा थप २०० अर्ब डलर वितरण गर्न सक्ने उनले बताएका छन् ।

गेट्सले फाउन्डेसनको वार्षिक बजेट ६ अर्ब डलरबाट बढाएर ९ अर्ब डलर पुर्‍याउने योजना पनि बनाएका छन् । आगामी २ दशकका लागि उनका लक्ष्यहरु मध्ये रोकथाम गर्न सकिने कारणहरुले हुने आमा र साना बालबालिकाको मृत्यु अझ घटाउने, पोलियो, मलेरिया लगायत रोगहरुको उन्मूलनमा सहयोग गर्ने र अफ्रिकी राष्ट्रहरुमा शिक्षा र कृषि क्षेत्रमा प्रगति ल्याउने परियोजनाहरुमा लगानी गरी “सयौं लाख मानिसहरुलाई गरिबीबाट मुक्त गराउन” प्रयास गर्ने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्