इन्फिनिटी लघुवित्तको नाफा घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं,२३ वैशाख । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य घटेको छ ।

लघुवित्तले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९८.८४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेपनि खराब कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८.१९ प्रतिशत बढेको छ भने अन्य खुद फि तथा कमिशन आम्दानी १६.५५ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १८.१२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९८.७४ प्रतिशत घटेको छ ।
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ४.९७ प्रतिशतबाट बढेर १४.३५ प्रतिशत पुगेको छ । यससँगै गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ करोड ५५ लाख रुपैयाँ रिभर्स भएको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ९ करोड ५७ लाख रुपैयाँ पुगेको छ । जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ ९४ पैसा घटेर १६ पैसामा रहेको छ । त्यस्तै, लघुवित्तको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ७४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५ हजार ५०९.७५ गुणा रहेको छ ।

४९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १८ करोड ७७ लाख रुपैयाँ सञ्चित छ । तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले ५ अर्ब २ करोड ७४ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ६६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्