प्रिशा मृत्यु (किट कलेज) को सत्यतथ्य पत्ता लगाउन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं, २२ बैशाख । भारतको उडिसास्थित किट कलेजमा नेपाली छात्रा प्रिशा साहको मृत्यु प्रकरणमा सत्यतथ्य पत्ता लगाउन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा सांसदहरूले प्रिशाको मृत्युलाई लिएर ध्यानाकर्षण गराएपछि उनले भारत सरकारसँग उच्च तहमा कूटनीतिक संवाद बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गरेका छन् ।

‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु’, सभामुखले भने ।

साथै, विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलका लागि पनि सभामुख घिमिरेले अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्