सेयर बजार २६२० अंकमा, कारोबार राम्रो हुनुमा हाइड्रोपावरको भूमिका
काठमाडौं, २१ बैशाख । बुधबार सेयर बजारमा कुल ९ अर्ब २४ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा १३ करोड कम हो । सवा ९ अर्बको कारोबार हुँदा नेप्से परिसूचक ३।४४ अंक घटेको छ । सो गिरावटपछि २६२० मा कायम भएको छ ।
बजारमा आइतबार हाइड्रोपावर कम्पनीहरुको अधिक कारोबार भएको छ । अरु बेला पनि यो सेक्टरका कम्पनीको उच्च कारोबार हुने गरेको छ । तर आइतबार भने करिब ५९ प्रतिशत हिस्सा यहीं एउटा सेक्टरले ओगट्यो ।
५ अर्ब ४४ करोड ९४ लाख रुपैयाँको सेयर हाइड्रोपावर कम्पनीहरुको मात्रै कारोबार भयो । कुल कारोबारमा यो ५८।९ प्रतिशत हो । उच्च कारोबारका बाबजुत यो सेक्टर आज ०।०९ प्रतिशत घट्यो ।
हाइड्रोपावरका अलवा फाइनान्स १।३०, लगानी ०।८६, जीवन बीमा ०।२८, माइक्रोफाइनान्स ०।२५, व्यापार ०।८४ तथा अन्य ०।०२ प्रतिशत घटे । बैंकिङ ०।१०, विकास बैंक ०।०६, होटल तथा पर्यटन ०।०४, उत्पादन ०।६२ तथा निर्जीवन बीमा ०।२३ प्रतिशत बढे ।
तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेपाल माइक्रोइन्स्योरेन्स, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढेको हो । यीमध्ये ओम मेगाश्री आजैदेखि कारोबारमा आएको हो । जसको मूल्य प्रतिकित्ता २९७ रुपैयाँ पुगेको छ ।
त्यस्तै अपरसोलु हाइड्रो इलेक्ट्रिकको ९।८४, तथा सपोर्ट माइक्रोफाइनान्सको ९।०४ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । रिभरफल्स पावरको ७।५५ तथा भूगोल इनर्जीको ६।१५ प्रतिशत मूल्य घट्यो ।
धेरै कारोबार भएका कम्पनीमा पनि हाइड्रोपावरको वर्चस्व रह्यो । रकमका आधारमा धेरै कारोबार भएका १० कम्पनीमध्ये ७ वटा हाइड्रोपावर नै रहे । धेरै कारोबार भएका १० कम्पनीमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर, एचआईडीसीएल प्रमोटर, सिनर्जी पावर, हिमालयन पावर पार्टनर, अरुणभ्याली हाइड्रोपावर र एचआईडीसीएल छन् ।
प्रतिक्रिया दिनुहोस्