भारतले थप ६ सय मेगावाट विद्युत् नेपाललाई दिन सहमत

काठमाडौं,१८ वैशाख । भारतले ६ सय मेगावाट थप विद्युत् नेपाललाई दिन सहमत भएको छ । भारतले बिहानको २ बजेदेखि साँझको ५ बजेसम्म १५ घन्टाका लागि थप विजुली दिने भएको हो । यसअघि मार्च १५ देखि भारतले सोलार आवर (विहान ६ बजेदेखि साँझ ६ बजे) मा मात्र विजुली दिइँदै आएको थियो ।

यो थप गरिएको बिजुली ढल्केवर-मुज्जफपुर प्रसारणलाइनबाट आयात हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । बिहीबार बिहान भारतले स्वीकृत दिएकोले आज राति १२ बजेबाट थपिएको बिजुली आयात गरिने शाक्यले बताए ।

सुख्खायाममा नदीमा पानीको बहाब घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो छ । अहिले भारतबाट विद्युत् आयात भने भइरहेको छ । प्राधिकरणको तथ्यांकअनुसार हालः विद्युतको आन्तरिक उत्पादन औसत करिब ११ सय ७५ मेगावाट रहेको छ भने विद्युतको उच्च माग २ हजार ७७ मेगावाट छ ।

विद्युतको उच्च मागको समयमा विद्युत् उत्पादन १५ सय ९३ मेगावाट हुने गरेको छ । आन्तरिक उत्पादनले नपुगेको बिजुली भारतबाट आयात गरिँदै आइएको छ । नेपालले छिमेकी मुलुक भारतबाट पावर एक्सचेन्ज कमिटि ९पीइसी०मार्फत बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म १३२ केभी लाइनमार्फत अधिकतमा ३५० मेगावाट विद्युत आपूर्ति गर्ने अनुमति पाएको हो ।

हालः मैनैया सम्पतिया लाइनबाट विहान २ देखि ६ र बेलुका ६ देखि ७ गरी जम्मा ५० मेगावाट मात्र विद्युत् आपूर्ति भइरहेको छ । भारतमा आइपीएल खेल जारी रहँदा माग बढेकाले आइएक्सको दररेट पीइसीको दररेट भन्दा बढी भएकाले विहारसँग जोडिएका १३२ केभी लाइनबाट अधिकतम प्रयास गर्दा समेत विद्युत् प्राप्त हुन नसकेको प्राधिकरण बताउँछ ।

इन्डियन एक्सचेन्ज मार्केट (आइइएक्स)मार्फत विहान ६ देखि बेलुका ५ बजेसम्म र राति ११ बजेदेखि विहान ४ बजेसम्म विद्युत् खरिद गरिँदै आइएको छ । प्राधिकरणले रातिको ११ बजेदेखि विहान ४ बजेसम्म तोकिएको अधिकतम मूल्यमा बोलकबोल गर्न माग गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्