सरकारमा बस्ने रुचि छैन, तर ठूलो आन्दोलनमा जाँदैछौं : अध्यक्ष पुष्पकमल

काठमाडौं,१८ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकचोटी फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो कुरा बताएका हुन् । उनले अहिले सरकारमा जाने कुनै रुची नभएको तर ठूलो आन्दोलनमा जानुपर्ने बाध्यता रहेको बताए ।

तपाईंहरू अब राम्रो तयारीमा जानुस् । छिट्टै हामी ठूलै आन्दोलनमा जानुपर्ने छ । हामी यथास्थितिवादी पार्टीसँग मिलेर सरकारमा जाने कुनै रुचि छैन । जनतासँगै ठिक छौं, हाम्रै वर्गसँग ठिक छौं । आन्दोलनद्वारा तमाम समस्याको समाधान गर्न आफूहरू तयार अवस्थामा बस्नुपर्ने उनको भनाइ थियो ।

एकचोटी फेरि हामीलाई हिजो जनक्रान्तिमा साथ दिने, हिजोको पीएलएका सबै कमाण्डर र योद्धा साथिसँग, घाइते अपांगसँग, जेलनेल यातना भोगेकासँग, ०६४ मा हामीलाई माया गरेर मतदान गर्ने जनतासँग एकचोटी फेरि नयाँ क्रान्तिको तयारी हामीले गर्नैपर्छ ।

साथै, उनले सरकारमा भएकाले दमन गर्न खोजे त्यो सम्भावना नहुने जिकिर गरे ।

अब हुने क्रान्ति शान्तिपूर्ण हुनेछ, यदि राज्य र सरकारमा हुनेले बल प्रयोग गरेर दमन गर्न खोजे भने त्यहाँ जनताको विद्रोहको अधिकारलाई दुनियाँको कुनै तागतले रोक्न सकेको छैन । नेपालमा पनि रोक्न सक्ने छैन,’ प्रचण्डले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्