फर्स्ट माइक्रोफाइनान्सको नाफासंगै घट्यो प्रतिसेयर आम्दानी
काठमाडौं,१७ वैशाख । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आ.व.को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५।७७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७.९४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ८०.४७ प्रतिशत घटेको छ । त्यसैगरि, लघुवित्तको कुल सञ्चालन आम्दानी ४०.५९ प्रतिशत र सञ्चालन मुनाफा ४५.९४ प्रतिशत घटेको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७ रुपैयाँ ८ पैसा घटेर ७ रुपैयाँमा सीमित भएको छ । चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०८.६७ गुणा रहेको छ ।
तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५ करोड १९ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८ पैसा रहेको छ ।
१ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३५ करोड ९२ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तले चैत मसान्तसम्ममा ५ अर्ब ४० करोड ९४ लाख रुपैयाँ सापटीबाट ६ अर्ब ८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्