विचाराधीन मुद्दामा असर पर्नेगरी अभिव्यक्ति नदिन गगन थापालाई सर्वोच्चको आदेश

काठमाडौं,१६ वैशाख । अदालतमा विचाराधीन मुद्दामा प्रतिकुल असर पर्ने गरी कुनै अभिव्यक्ति नदिन कांग्रेस महामन्त्री गगन थापालाई सर्वोच्च अदालतले आदेश दिएको छ ।

थापाविरुद्ध पेश भएको अदालतको अवहेलनासम्बन्धी निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले ‘न्यायसम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेत विचार गर्न’ भन्दै विचाराधीन मुद्दा अभिव्यक्ति नदिनू भनेको हो ।

सर्वोच्चले आदेशमा भनिएको छ, ‘अदालतमा विचाराधीन मुद्दामा निष्पक्ष न्याय सम्पादनको न्यायिक प्रक्रियाको संवेदनशीलता समेतलाई विचार गरी अदालत समक्ष विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति दिने कार्य नगर्नू नगराउनू ।’

वैयक्तिक स्वतन्त्रता निरपेक्ष नहुने भन्दै सर्वोच्चले विचाराधीन मुद्दामा संघीय संसद्को सदनमा समेत छलफल नगरिने मान्यता भएको भन्दै ध्यानाकर्षण गराएको हो । न्यायनिरुपणमा प्रतिकूल असर पर्नेगरी संसदमा समेत अभिव्यक्ति दिन नमिल्ने संवैधानिक व्यवस्था रहेको भन्दै सर्वोच्चले अन्यत्र दिने अभिव्यक्तिमा अझ संवेदनशील हुनुपर्ने आशयमा आदेश जारी गरेको हो ।

केही दिन अघि गगन थापाले ‘५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामा सर्वोच्च अदालतले डिल गरिरहेको’ भनी अभिव्यक्ति दिएका थिए । उनको त्यो अभिव्यक्ति विरुद्ध अधिवक्ता अनन्तराज लुईंटेल लगायतले अवहेलनाको कारबाही माग राखी सर्वोच्चमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्