राप्रपा नेताहरूको पक्राउप्रति जनआन्दोलन समितिको घोर आपत्ति, पञ्चायतकालमा समेत थियो वाक स्वतन्त्रता

काठमाडौं, ७ बैशाख । राजसंस्था पुनस्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरुलाई पक्राउ गरिएकोप्रति विरोध जनाएको छ ।

समितिका प्रवक्ता स्वागत नेपालले एक विज्ञप्ति जारी गर्द शान्तिपूर्ण प्रदर्शनमा रोक लगाएर अलोकतान्त्रिक कृत्य गरिएको भन्दै भत्र्सना गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘तीनकुने गोलीकाण्डको न्यायिक छानबिन गर्नुपर्ने शान्तिपूर्ण माग सहित सिंहदरबार परिसर राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको कार्यालयबाट अघि बढेको अवस्थामा सो पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई सरकारले पक्राउ गरेकोमा उक्त अलोकतान्त्रिक कृत्यको हामी घोर भर्त्सना गर्दछौं ।’

पञ्चायती प्रजातन्त्रमा समेत जनताका प्रतिनिधिहरूले जनताका तर्फबाट सिंहदरबारस्थित राष्ट्रिय पञ्चायतभित्रसमेत पूर्णवाक स्वतन्त्रता सहित व्यवस्थाविरुद्ध माग राख्न पाइने गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘हाल आस्थामाथि प्रतिबन्ध लगाउँदै व्यवस्थाविरुद्धको प्रदर्शन तथा अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाइएकोमा हामी गम्भीर आपत्ति प्रकट गर्दछौं, विज्ञप्तिमा भनिएको छ, ‘तत्काल तीनकुने गोलीकाण्डको निष्पक्ष न्यायिक आयोग गठन गर्न र पक्राउ गरिएका जनप्रतिनिधी तथा झूठा मुद्दामा फसाइएका सबैलाई अविलम्ब रिहा गर्दै वार्ता र संवादको प्रक्रियामा आउन समेत हामी सरकारसँग पुनः आह्वान गर्दछौं । अन्यथा जनताको विद्रोहबाट हुन सक्ने सम्पूर्ण क्षतिको जिम्मा सरकार पक्ष स्वयमले लिनु पर्ने पनि चेतावनी दिन चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्