निफ्राको खुद ब्याज आम्दानीसँगै घट्यो प्रतिसेयर आम्दानी पनि

काठमाडौं,७ वैशाख । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ९० करोड ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.८४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घटेसँगै बैंकको खुद नाफा पनि घट्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.१२ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १०९.०४ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी २३.६८ प्रतिशत र सञ्चालन मुनाफा ८.८८ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ करोड ८१ लाख रुपैयाँ रिभर्स भएको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५३ पैसा घटेर ५ रुपैयाँ ५६ पैसामा झरेको छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी ७६ करोड ९५ लाख रुपैयाँ रहेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४९.७७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ८१ पैसा रहेको छ ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ७४ करोड ७५ लाख रुपैयाँ सञ्चित छ । बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा ७ अर्ब ७८ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ५० करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्