ग्लोबल आइएमई बैंकले कमायो साढे ४ अर्बभन्दा बढी नाफा
काठमाडौं,७ वैशाख ।ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.३० प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३४.४१ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोडबाट घटेर ३ अर्ब ११ करोडमा सीमित भएको छ। जसका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ६६ पैसा बढेर १५ रुपैयाँ ८६ पैसा पुगेको छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४ पैसा रहेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३।७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा रहेको छ ।
३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २८ अर्ब २० लाख रुपैयाँ सञ्चित छ । बैंकको तेस्रो त्रैमासको अन्त्यसम्ममा ५ खर्ब १७ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्