गुराँस लघुवित्तको तेस्रो त्रैमासमा खुद नाफासंगै बढ्यो प्रतिसेयर आम्दानी
काठमाडौं,५ वैशाख । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले २ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०।६२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा पनि बढ्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५६.६६ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी १४ प्रतिशत घटेको छ । त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ३३.९२ प्रतिशत र सञ्चालन मुनाफा ३९.५४ प्रतिशत बढेको छ ।
नाफासँगै यस दिन प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ ६५ पैसा बढेर ३१ रुपैयाँ २० पैसा पुगेको छ । तेस्रो त्रैमाससम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ २६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९४.२ गुणा रहेको छ ।
११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ करोड ३५ लाख रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्ममा लघुवित्तले १ अर्ब ३२ करोड ९ लाख रुपैयाँ सापटी र ४० करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८८ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्