ललिता निवास जग्गा प्रकरणका माधव नेपाल र बाबुराम भट्टराई विरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं, ४ चैत । ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

बिहीबारको बहसमा बालकृष्ण न्यौपानेले नीतिगत निर्णयमा मुद्दा नचलाउने अख्तियारको निर्णयविरुद्ध आफूले दायर गरेको रिट र अख्तियारले पुनरावेदन गरेको मुद्दा लगाउमा राखी हेर्न माग गरेका थिए ।

त्यसपछि न्यायाधीश नित्यानन्द पाण्डेयले अख्तियारको पुनरावेदन सामान्य बेन्चमा रहेकाले लगाउमा राखी हेर्न मिल्ने हो वा नमिल्ने भनेर प्रश्न गरेका थिए ।

तर, अधिवक्ता न्यौपानेले अदालतले भविष्य समेत हेर्न पर्ने भएकाले लगाउमा राखेर हेर्नपर्ने तर्क राखेका थिए ।

त्यसपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अख्तियारको पुनरावेदनमा धेरै प्रतिवादी भएकाले ती सबै यता आएर मिसिएपछि हेर्न मिल्ने कि नमिल्ने भन्ने पनि हेर्नपर्ने बताएका थिए ।

उक्त अध्ययन आवश्यक रहेको प्रधानन्यायाधीश राउतको भनाइसँगै आजका लागि बहस टुंगिएर उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

आज नेपाल र भट्टराई विरुद्धको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा पेसी तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्