नारायणी नदिमा पौडी खेल्न गएका दुई बालक बेपत्ता
काठमाडौं, ३ वैशाख । नारायणी नदीमा पौडी खेल्न गएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एकै घरका दुई बालक बेपत्ता भएका छन् ।
मंगलबार दिउँसो पौडी खेल्न गएका ५ जनामध्ये मध्यविन्दु १२ तमासपुरका धनन्जय पौडेलका छोरा १६ वर्षीय विजय र हरि पौडेलका छोरा १२ वर्षीय पवन बेपत्ता भएका हुन् ।
वेपत्ता भएका बालकहरु एउटै परिवारका दुई भाइका छोरा हुन् ।
घरबाट दुई किलोमिटर टाढा मध्यविन्दु नगरपालिकाको वडा नम्बर १५ को सीमा क्षेत्रमा पर्ने अरुणखोला र नारायणी नदीको संगमस्थल सशलाघाटमा उनीहरु पौडी खेल्न गएका थिए । उनीहरु बेपत्ता भएको जानकारी साँझ साढे ६ बजेतिर पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
नारायणी नदिमा गएराति १२ बजेसम्म उनीहरुको खोजतलास गरेपनि फेला नपरेको वडाध्यक्ष कान्ता प्रसाद कुमालले बताए । प्रमुख जिल्ला अधिकारीलाई गोताखोरको व्यवस्था गर्न आग्रह गरेर आज बिहानैबाट पुनः खोजी कार्य भइरहेको वडाध्यक्ष कुमालले बताए ।
बेपत्ता भएका दुबै बालकका बुबाहरु रोजगारीका शिलशिलामा विदेशमा छन् ।
प्रतिक्रिया दिनुहोस्