वर्षासँगै आएको पहिरोले कालिकोट र सल्यानमा सडक पूर्णरुपमा अवरुद्ध

काठमााडैं, २८ चैत । लामो समयपछि वर्ष भएको छ । आज रातीको वर्षासँगै आएको पहिरोले कालिकोट र सल्यानमा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

कालिकोटको पचालझरना गाउँपालिका ८ जारकोटमा पहिरो खस्दा सुर्खेत–हुम्ला सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध छ । ठूला ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको र डोजर प्रयोग गरेर खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव निरीक्षक सागर घर्तीले जानकारी दिए ।

यसैगरी सल्यानको बनगाड कुपिण्डे नगरपालिका ११ धारापानीमा खसेको पहिरोले जाजरकोट सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए । ‘ठूलो डोजर ल्याएर पहिरो पन्छाउने क्रम जारी छ,’ उनले भने ।

सल्यानकै कपुरकोट गाउँपालिका ३ मा खसेको पहिरो भने पन्छाइसकेकाले यातायात आवागमन सामान्य रहेको सडक विभागको आज बिहान ८ बजेसम्मको विवरणमा उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस्