शिक्षक महासंघले वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने
काठमााडैं, २८ चैत । आन्दोलनरत शिक्षक महासंघले वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भएको छ ।
बुधबार शिक्षा सचिवले महासंघलाई शिक्षा विधेयकमा छलफल गर्न पत्र पठाएपछि आज महासंघको टोलीले सरकारसँग छलफल गर्दैछ । वार्ताको समय र स्थान भने तय भएको छैन । यसले गर्दा वार्ता र आन्दोलन संँगै लैजाने भएको हो ।
दुई पक्षबीच छलफलबाट समय तय गरिने बताइएको छ । महासंघले संवादसँगै आन्दोलनलाई पनि निरन्तरता दिने जनाएको छ । ‘संवाद र आन्दोलन सँगसँगै जान्छ । हामी वार्ता विरोधी होइनौं । तर, भाकाको सहमतिका लागि मात्र वार्तामा बस्दैनौं । ऐन जारी गर्ने सुनिश्चितता हुनुपर्छ’, महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
महासंघले ऐन जारी गर्न तीन वटा विकल्प सरकारलाई दिएको छ । संसदको विशेष अधिवेशन, बर्खे अधिवेशन छिटो बोलाएर वा अध्यादेशबाट ऐन ल्याउन विकल्प दिएका छन् । आज हुने संवादमा पनि महासंघले यिनै आफ्ना कुरा राख्ने बताइएको छ ।
महासंघले आन्दोलनलाई यथावत राख्न शिक्षकहरूलाई निर्देशन दिएको छ । ‘सरकार जो सुकैको होस् ,सत्ता सञ्चालकहरु पेसागत आन्दोलनलाई बोझ सम्झन्छन् । निषेध गर्न खोज्छन् । कुनै तह र तप्काले आफ्ना माग नउठाउन् र आफ्नो सत्ता बिना बाधा चलिरहोस्, सत्ताको सुकोमल बिछ्यौनामा चैनको निन्द्रा सुतिरहन पाइयोस् भन्ने चाहना राख्छन् । हामी त्यही सोच र व्यवहार विरुद्ध लडिरहेका छौं’, महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘कुनै प्रायोजित हल्ला र षडयन्त्रलाई विश्वास नगरी आन्दोलनको मोर्चामा यथावत् जुटिरहन सबै आन्दोलनकारी शिक्षक(कर्मचारी साथीलाई आग्रह गर्दछौं, ‘म शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।’ यसले गर्दा अब शिक्षकको आन्दोलन के होला भन्ने चौतर्पि चासो छ ।
प्रतिक्रिया दिनुहोस्