स्वाभिमान लघुवित्तले डाक्यो वार्षिक साधारणसभा

काठमाडौं,२७ चैत । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । आउँदो वैशाख १९ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा रुपन्देहीको तिलोत्तमास्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ५.२६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा बोनस शेयर ५ प्रतिशत र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश छन्।

संस्थाले बोनस शेयर वितरणपछि संस्थाको चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । प्रबन्धपत्र र नियमावली संशोधन गर्दा नियमनकारी निकायहरुबाट आवश्यक निर्देशन भएमा सोहीबमोजिम गर्ने गराउने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्षका लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण लगायत प्रस्ताव स्वीकृत गर्नेछ । साथै, संस्थाको रिक्त सञ्चालक पदमा मनोनयन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले वैशाख ११ गते बुक क्लोज गर्ने छ । वैशाख १० गतेसम्म कायम शेयरधनीहरु मात्रै यो संस्थाको वार्षिक साधारणसभा भाग लिन र लाभांश पाउने योग्य हुने छन् ।

प्रतिक्रिया दिनुहोस्