राप्रपाको खबरदारी सभामा सांसद तामाङको गर्जन रवीन्द्र र धवललाई जस्तो मुद्दा ओली र प्रचण्डलाई पनि लगाउनुपर्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणालाई लगाएजस्तो मुद्दा सुरुमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लगाउनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंको बल्खुमा पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा सांसद समेत रहेका उनले ओली र प्रचण्ड दुवैले संविधान विरोध अभिव्यक्ति दिँदै हिँडेको आरोप लगाए ।

उनका अनुसार, ओलीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रचण्डले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको वकालत गरेको भन्दै उक्त दुवै विषय संविधानमा नभएको उनको तर्क थियो ।

‘सरकारले तुरुन्तै उहाँहरू (रवीन्द्र र धवल)लाई विनाशर्त रिहाइ गरोस् । यसमा सत्यतथ्य के हो ? पार्टीले पनि माग गरेको छ,’ तामाङले भने, ‘‘ यस्तो मुद्दा लगाउने हो भने पहिला कसलाई लाउनुपर्छ थाहा छ ? केपी ओलीलाई लाउनुपर्छ ।’

प्रधानमन्त्री ओली संविधानको विरुद्धमा रहेको उनको भनाइ थियो ।

‘‘किनभने संविधानमा नभएको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिन्छ भन्नुभएको छ । उहाँ पनि संविधानको खिलापमा हुनुहुन्छ । त्यसैले उहाँलाई थुन्नुपर्छ,’ उनले भनेका छन् ।

साथै, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई पनि गिरफ्तार गर्नुपर्ने उनले बताए ।

‘प्रचण्डजीले यो कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने माग गर्दै हिँड्नुभएको छ । उहाँलाई पनि गिरफ्तार गर्नुपर्छ,’ तामाङले भनेका छन् ।

उनले गत १५ गते तीनकुनेमा भएको घटनाबारे पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग गठन गर्न आग्रह गरे ।

‘यो पत्ता लगाउनका लागि सर्वोच्च अदालतको पूर्वन्यायाधीशको अध्यक्षतामा मानवअधिकारवादी, सञ्चारकर्मी लगायत सर्वपक्षीय जाँचबुझ आयोग गठन होस् । हाम्रो पार्टीले मागिसकेको छ । सरकारलाई यो कुरा भनिसकेका छौं । यो कुरा पूरा होस् भन्न चाहन्छु,’ तामाङले भने ।

प्रतिक्रिया दिनुहोस्