राष्ट्र बैंकका डेपुटी गभर्नर निलमलाई कामु गभर्नरको जिम्मेवारी

काठमाडौं, २५ चैत। सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिएको छ । चैत २२ गते नै कार्यवाहक गभर्नर ढुंगानालाई तोकेको पत्र आज नेपाल राष्ट्र बैंक पुगेको हो ।

राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले अर्थ मन्त्रालयबाट डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी तोकिएको पत्र आएको बताए । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

आज ३ बजे बस्ने मन्त्रिपरिषद्को बैठक बस्दैछ । उक्त बैठकमा गभर्नर नियुक्ति हुन सक्ने बताइएको छ । तर, अहिलेसम्म गभर्नर नियुक्तिको एजेण्डा प्राप्त भइनसकेको एक मन्त्रीले बताए ।

उनले भने, ‘आज बस्ने मन्त्रिपरिषद्मा नयाँ गभर्नर नियुक्तिको विषय अहिलेसम्म छैन । गभर्नर नियुक्तिका लागि अहिलेसम्म सिफारिस समितिको बैठक पनि बसेको छैन ।’

तर, क्याविनेट बस्नु केही समयअघि सिफारिस समितिले ३ जनाको लिस्टिङ पनि गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्