बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु हुँदै

काठमाडौं, २५ चैत । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना आज हुँदै छ ।

नयाँ नेतृत्व चयनका लागि शनिबार नै निर्वाचन भए पनि मतपेटिका काठमाडौं ल्याउन ढिलाइ भएकाले आज सोमबारबाट मात्र मतगणना सुरु गर्न लागिएको हो ।

निर्वाचन समितिका अनुसार आज दिउँसो १२ बजेपछि मतगणना सुरु गर्ने तयारी छ । नेपाल बार एसोसिएसनको भवनमा सात ठाउँमा मतगणना गर्ने तयारी छ ।

‘सबै ३५ वटा मतदान केन्द्रका मतपेटिका संकलन भइसकेको छ, त्यसैले आज १२ बजेबाट मतगणना सुरु हुन्छ,’ अध्यक्षका उम्मेदवार रमण श्रेष्ठले भने, ‘६र७ ठाउँमा मतगणना हुन्छ ।’
अध्यक्ष पदमा सत्ता साझेदार दल कांग्रेस–एमालेको गठबन्धनबाट डा। विजय मिश्र र महासचिवमा केदार प्रसाद कोइराला उम्मेदवार छन् ।

यसैगरी सत्ता इतर प्यानलबाट माओवादी केन्द्र निकट रमण श्रेष्ठ र महासचिवमा यज्ञमणि न्यौपाने उम्मेदवार छन् ।

शनिबारको निर्वाचनमा देशभरका ९ हजार ९९७ मतदाताहरुमध्ये ७ हजार ९९५ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्