मधेस केन्द्रित सात दलको उद्देश्य र राजनीतिक प्रतिबद्धता सहित मोर्चा घोषणा
काठमाडौं, २१ चैत । संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरूका लागि १५ बुँदे आचारसंहिता लागु गरिएको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, डा.सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, वृषेशचन्द्र लाल अध्यक्ष रहेको तमलोपा र हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टीले आज संघीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका हुन् ।
सबै घटक दलको कार्यालय वा संसदीय दल वा दलहरूको सुविधा हुने ठाउँमा यसको बैठक राख्ने र सो दिनको बैठकको अध्यक्षता र मिडिया संयोजन तथा मिडिया ब्रिफिङको काम त्यही दलले गर्ने भनेको छ ।
सहमति वा निर्णय गरिएका एजेन्डा र कार्यक्रम सबै दलले पालना गर्नुपर्ने उल्लेख गर्दै सहमतिका आधारमा गरिएका निर्णय नै मोर्चाका आधिकारिक हुने उल्लेख गरिएको छ ।
विचार मिल्ने दललाई बैठकमा आमन्त्रित दलका रूपमा सहभागी गराउन सकिने आचारसंहितामा उल्लेख छ । यसमा आबद्ध दलहरूले सार्वजनिक रूपमा एक अर्काको आलोचना, घोचपेच नगरी अभिव्यक्ति दिने उल्लेख गर्दै वैचारिक एवं सैद्धान्तिक सवालमा आ–आफ्नो विचार राख्न कुनै बाधा नपर्ने पनि उल्लेख गरेको छ ।
आवश्यक कार्यविधि निर्माण गरी आबद्ध दलबिच अन्य क्षेत्रमा पनि सहकार्य गर्न सकिने उल्लेख गरेको छ । मोर्चाको एउटा मूल समिति हुने र सो समितिमा प्रत्येक घटक दलबाट अध्यक्षसहित बढीमा तीन जनासम्म सदस्य राख्न सकिने व्यवस्था गरिएको छ ।
प्रत्येक दलबाट एक–एक जना सदस्य रहने गरी एउटा सचिवालय गठन गर्ने भनिएको छ । सचिवालयले एजेन्डा, योजना र कार्यक्रमको खाका तयार गरी मूल समितिमा पेस गर्ने जनाइएको छ । आवश्यकताअनुसार अन्य उपसमिति तथा कार्यदलहरू पनि गठन गर्ने जनाइएको छ ।
कुनै पनि विषयमा तत्काल छलफल गर्न आवश्यक परे आबद्ध दलले कुनै पनि वेला बैठक डाक्न सक्ने उल्लेख गर्दै बैठकको छुट्टै माइन्युट बनाउने र त्यसको व्यवस्थापन सचिवालयले गर्ने भनिएको छ । बैठकमा सहभागीहरूले मर्यादित रूपमा आ–आफ्नो धारणा राख्नुपर्ने भनिएको छ ।
यसमा आबद्ध दलहरूले मोर्चाको उद्देश्य विपरीत नहुने गरी अन्यत्र आबद्ध हुन वा अन्य दलसँग एकीकरण गर्न बाधा नहुने पनि भनेको छ । मोर्चा सञ्चालन गर्न कार्यविधि निर्माण गरी कार्यान्वयन गरिने उल्लेख गर्दै हरेक दलको हैसियत समान हुने भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्