चैत्र १५ अर्थात तीनकुने प्रदर्शनमा ज्यान गुमाएका सविनको पोस्टमार्टम
१९ चैत, काठमाडौं । राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा ज्यान गुमाएका सविन महर्जनको पोस्टमार्टम गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा मंगलबार उनको पोस्टमार्टम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पोस्टमार्टम सकिएसँगै उनको आजै आफन्तले अन्तिम संस्कारको तयारी गरेको प्रहरीको भनाइ छ ।
कीर्तिपुरका सविनको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ निवासी महर्जन २९ वर्षका थिए ।
तीनकुने क्षेत्रको प्रदर्शनमा प्रहरीको गोली लागेसँगै महर्जनलाई उपचारका लागि टिचिङ हस्पिटल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हस्पिटलले जनाएको छ ।
फोरिन्सक विभाग स्रोतले भन्यो, ‘साँझसम्ममा पोस्टमार्टम रिर्पोटसहित परिवारलाई शव जिम्मा लगाउँछौं ।’
तीनकुने घटनामा समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकले समेत ज्यान गुमाएका थिए । उनको भने अझै पोस्टमार्टम भएको छैन ।
रिर्पोटिङको क्रममा आगोले जलेर मृत्यु भएका फोटा पत्रकार सुरेश रजक भने पोस्टमार्टम गर्न केही दिन लाग्ने छ ।
स्रोतका अनुसार अस्पतालमा एक्सरे मेसिन उपकरण बिग्रिएको कारणले रजतको पोस्टमार्टम गर्न ढिलाइ भएको हो ।
‘शरीर पूरै जलेको भएकाले एक्सरे गरेर पनि हेर्नुपर्ने हुन्छ,’ स्रोतले भन्यो, ‘केही दिनमा उपकरण मर्मत गरेर रजकको पोस्टमार्टम गर्छौं ।’
गत १५ गतेको प्रदर्शनका क्रममा उनको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्