उपत्यकामा आज गणतन्त्रवादी र राजावादीहरुले अलग अलग प्रदर्शन गर्दै
काठमाडौं, १५ चैत। काठमाडौं उपत्यकामा आज गणतन्त्रवादी र राजावादीहरुले अलग अलग प्रदर्शन गर्दै छन् । गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्दै छन् ।
गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् ।
यसले गर्दा राजधानी काठमाडौंको अवस्था अस्तव्यस्त छ । ट्राफिक व्यवस्ताले निकै मग्भिर भएको छ ।
राजावादीहरुको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । तर आजको प्रदर्शनको ‘कमाण्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ ।
समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन गर्न लागेको जनाएको छ । यसैगरी राजावादीहरुले संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि प्रदर्शन गर्न लागिएको जनाएका छन् ।
आजको एसईई परीक्षा ११ बजे सकिएपछि १२ बजेदेखि प्रदर्शन सुरु गर्ने तयारी छ ।
दुवै पक्षको प्रदर्शन एकै समयमा प्रदर्शन हुन थालेपछि काठमाडौं उपत्यकाभर सुरक्षा सतर्कता बढाइएको छ । सुरक्षा सतर्कता अपनाउने क्रममा राजावादीहरुको समूहलाई चक्रपथ भन्दा भित्र प्रवेश गर्न नदिने र गणतन्त्रवादीहरुलाई काठमाडौं चक्रपथभित्र सीमित गर्ने गरी रणनीति तयार पारिएको छ ।
गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आमने–सामने हुनै नदिने रणनीति अनुसार प्रदर्शन र सभा गर्नका लागि अलग–अलग ठाउँ तोकिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार गणतन्त्रवादीहरुको नेतृत्व गरेको समाजवादी मोर्चालाई प्रदर्शनीमार्गमा र राजावादीहरुलाई तीनकुनेमा सभा गर्ने ठाउँ तोकिएको छ ।
आजको जुलुस र सभालाई दुवै पक्षले शक्ति प्रदर्शनको रुपमा लिएका छन् । त्यसैले सकेसम्म धेरै मानिस काठमाडौंमा उतार्ने उनीहरुको तयारी छ । उनीहरुले विभिन्न जिल्लाबाट बसमार्फत् आ–आफ्ना समर्थकहरु ओसारेका छन् । केही काठमाडौं आइसकेका छन् भने केही आउनेक्रममा छन् ।
समाजवादी मोर्चाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रका एक नेताका अनुसार प्रत्येक प्रदेश कमिटीहरुलाई १०–१० हजारको दरले समर्थक भेला पार्न भनिएको छ । त्यसैगरी जनवर्गीय संगठनहरुलाई पनि ३ देखि ५ हजार जनशक्ति उतार्न भनिएको छ ।
यसैगरी विप्लव नेतृत्वको नेकपा, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका पनि नेता–कार्यकर्ता र समर्थकहरु थपिँदा मानिसहरुको संख्या अझै बढ्ने अनुमान छ ।
कति मानिस उत्रिन्छन् भनेर अहिले नै भन्न त सकिँदैन तर माओवादी केन्द्र निकट कार्यकर्ताहरुले ‘भ्रष्टाचार र बेथितिका विरुद्ध डेढ लाख गणतन्त्रवादी एकै ठाउँ’ लेखिएको पोष्टर सामाजिक सन्जालमा सेयर गरिरहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्