प्रतिनिधि सभा बैठकअघि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने

काठमाडौं, १४ चैत । प्रतिनिधि सभा बैठकअघि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् । ११ बजे बस्ने तय भएको प्रतिनिधि सभा बैठकअघि संसद् भवन बानेश्वरमा प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।

‘११ बजे बैठक छ, त्यसअघि प्रमुख सचेतकहरूसँग सभामुखले छलफल गर्दै हुनुहुन्छ’, सभामुखका प्रेस सहयोगी शेखर अधिकारीले भने,‘ संसदको अवरोध हटाउन प्रयासस्वरुप छलफल हुन लागेको हो ।’

हिजो विपक्षी दलका सांसदहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा प्रधानमन्त्रीको जवाफ माग्दै बुधबार संसदका दुवै सदनका बैठक अवरोध गरेका थिए ।

प्रधानमन्त्रीले जवाफ नदिएसम्म विपक्षी दल संसद् बैठक चल्न नदिने रणनीतिमा छन् भने सरकार एउटा कर्मचारी हटाउँदैमा जवाफ दिएर हिँडिइनु नपर्ने बताइरहेको छ । यसले गर्दा दलहरुबिच ध्रुविकरण बढेको छ । यसलाई हटाउन सभामुख घिमिरेले पहल थालेका हुन् । आजको संसद पनि के हुन्छ भन्न बैठक पछि थाहा लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्