सुक्खायाम शुरु भएसंगै कुलेखानीको ३ वटै युनिट पूर्ण क्षमतामा सञ्चालन
काठमाडौं,११ चैत । मकवानपुर जिल्लामा रहेको कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । सुक्खायाम सुरु भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रो युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् ।
कुलेखानी जलविद्युत् प्रथमले ६० मेगावाट, दोस्रोले ३२ मेगावाट र तेस्रोले १४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । अहिले दैनिक १४ देखि १८ घण्टा कुलेखानी जलविद्युत् केन्द्र पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । कुलेखानीबाट चैत ३ गतेदेखि तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन आएका छन् ।
रनअफ रिभरमा आधारित आयोजनाको सुक्खायाममा उत्पादन घटेकाले विद्युत् भार व्यवस्थापन गर्न कुलेखानी जलविद्युत् केन्द्रका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हो ।
वर्षायामको समयमा रनअफ रिभरमा आधारित आयोजना पूर्ण रुपमा सञ्चालनमा हुन्छ भने यो समयमा ड्याममा पानी सञ्चित गरिन्छ । सुक्खायाममा कुलेखानी जलविद्युत्का युनिटहरु सञ्चालनमा ल्याइन्छ ।
विद्युत भार व्यवस्थापन केन्द्रको आवश्यकतानुसार पूर्ण क्षमतामा सञ्चालन गरिएको छ । अहिले दैनिक १४ देखि १८ घण्टासम्म विद्युत् उत्पादन गरिरहेका छौँ, आवश्यक पर्यो भने हामी चौबीसै घण्टा विद्युत् उत्पादन गछौँँ ।
चालु आव २०८१/८२ को साउनदेखि फागुनसम्ममा कुलेखानी जलविद्युत् केन्द्र प्रथमले ८१ हजार दुई सय नौ मेगावाट विद्युत् उत्पादन गरेको छ । आव २०८०/८१ मा ३४ हजार तीन सय ८८ मेगावाट मात्र विद्युत् उत्पादन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्