नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षकमा दिपक थापा नियुक्त, को हुन् आइजीपी थापा ?
काठमाडौं,४ चैत । नेपाल प्रहरीको ३१औं प्रमुखमा दिपक थापा नियुक्ती पाएका छन् ।
आज साझ बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो ।
सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण ३०औं आईजीपी वसन्त कुँवर अवकाशमा जाँदैछन् । त्यसको पूर्वसन्ध्यामा सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो ।
प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए ।
नवनियुक्त प्रहरी प्रमुख थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरिरहेका थिए । तामाङ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रमुख छन् ।
प्रहरी नियमावली, २०१२ मा सरकारले उपयुक्त देखेका उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सक्ने उल्लेख छ । यद्यपि, सरकारले पहिलो वरियतामा रहेका थापालाई नै आईजीपी बनाएको छ ।
भक्तपुरको तत्कालीन सिपाडोलका स्थायीवासी थापा प्रहरी सेवामा प्रवेश गर्नुअघि शिक्षण पेशामा संलग्न थिए ।
उनले आईए र बीए दुवैमा भक्तपुर क्याम्पस टप गरेका थिए । २०५० सालमा हालका आईजीपी वसन्त कुँवरले पनि सोही दर्खास्तमा आवेदन दिएका थिए ।
तर, तत्कालीन सरकराले सर्टलिस्टमा परेका पहिलो समूहका ६० जनामध्ये ५२ जनालाई मात्र नियुक्ति दिए । बाँकी रहेका ८ जनाले ६ महिनापछि १९ भदौ २०५२ मा नियुक्ति पाएका थिए ।
बुटवल तालिम केन्द्र र प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा समेत काम गरिसकेका थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत र बुटवल कार्यालयको प्रमुख भएर समेत काम गरेका छन् ।
एसएसपी छँदा उनले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरेका छन् भने डीआईजी छँदा बागमती प्रदेश प्रहरीको नेतृत्व गरे । त्यसपछि प्रबन्ध निर्देशनालय, प्रशासन विभाग, उपत्यका प्रहरी कार्यालयको समेत उनले नेतृत्व गरे । ३० वर्षे सेवा अवधि नहटे थापा ६ महिनापछि अवकाशमा जानेछन् ।
प्रतिक्रिया दिनुहोस्