आईजी कुँवरसँगै ९ उच्च अधिकृत अवकाशमा जाँदै
काठमाडौं, ३ चैत । प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरसँगै ९ प्रहरी अधिकारीहरू भोलि (सोमबार) बाट अनिवार्य अवकाशमा जाँदैछन् ।
विद्यमान प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण ४ चैतको राति १२ बजेबाट आईजी कुँवरसँगै ९ प्रहरी अधिकारीहरू अवकाशमा जान लागेका हुन् ।
कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई, बुद्धिराज गुरुङ, कुवेर कडायत, दुर्गा सिंह र जनकराज भट्टराई अवकाशमा जाँदै छन् ।
त्यस्तै प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्द, भोला रावल र धु्रवराज राउत पनि भोलि ४ चैतमा अनिवार्य अवकाशमा जाँदैछन् ।
उनीहरू ५ चैत २०५१ मा प्रहरी सेवामा प्रवेश गरेका हुन् । उनीहरूसँगै प्रहरी सेवामा प्रवेश गरेका एसपीद्वय श्यामकुमार राई र सञ्जयबहादुर राउत पनि केही दिनअघि मात्रै अवकाशमा गएका थिए । योभन्दा अघि उमेर हदका ठूलो संख्या यही ब्याचका एआईजी, डीआईजीहरू अवकाशमा गएका थिए ।
आईजीसहितका व्यक्ति अवकाशमा जाने भएपछि आईजीदेखि एआईजी, डीआईजी बढुवाका लागि पनि प्रतिस्पर्धा हुने भएको छ । आईजीको प्रतिस्पर्धामा एआईजी दीपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ छन् ।
उनीहरूमध्ये एक जना आईजीमा बढुवा भएसँगै एआईजी र डीआईजी बढुवाको बाटो खुल्छ ।
प्रतिक्रिया दिनुहोस्