भक्तपुरको गट्ठाघरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं,२८ फागुन । भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका–३ गट्ठाघरमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–६ का ३६ वर्षीय श्यामकृष्ण कायस्थ छन् । कायस्थले चलाएको बागमती प्रदेश-०३-००१ ख १८८४ नम्बरको मोटरसाइकलाई बा ३१ प ४४४ नम्बरको ट्रकले बुधबार पौने ४ बजे ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि भक्तपुर इन्टरनेसनल अस्पताल लगिएको थियो । डाक्टरले उनलाई मृत घोषणा गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
प्रहरीले ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ४७ वर्षीय चन्द्रलाल शाक्यलाई पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्