राजा खोज्नु बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नु जस्तै होः सञ्चारमन्त्री गुरुङ

काठमाडौं, २८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थामा राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नु जस्तै भएको बताएका छन् ।

काठमाडौँमा मंगलवार हुलाक सेवा विभागले प्रचलनमा ल्याएको स्व चिनियालाल सिंह र स्व. नारदमुनी थुलुङको हुलाक टिकटमा टाँचा प्रदान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले वैज्ञानिक, लोकतान्त्रिक, मानवअधिकारलगायत थुप्रै पक्ष नियाल्दा पनि राजतन्त्र आउने सम्भावना नरहेको प्रस्ट पारे । सामन्तवादीको आडमा अडिएको राजतन्त्र हटाएर जनताले लोकतन्त्र ल्याएको इतिहास स्मरण गराउँदै मन्त्री गुरुङले राजाको नाममा मैदानमा उत्रिने नेताहरु लोकतन्त्र विरोधी भएको उल्लेख गरे । राजदरबार हत्याकाण्डपछि क्रमबद्ध राजकुमार दीपेन्द्रको निधन भएलगत्तै नेपालमा राजवंशीय सत्ता विधिवत् रुपमा समापन भएको तर्क गर्दै मन्त्री गुरुङले कुशले बनेका राजा बोकेर हिँड्नु नैतिकताले नसुहाउने तर्क गरे । असत्यबाट सत्यतिर र अध्यारोबाट उज्यालोतर्फ उन्मुख भैरहेको अवस्थामा फेरी राजा ल्याई अध्यारोमा प्रवेश गर्न नसक्ने जिकिर गरे ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले संसद्मा रहेको सामाजिक सञ्जालन नियमनसम्बन्धी बनेको विधेयक ल्याउन अत्यन्त जरुरी रहेको धारणा राखे । समाज व्यवस्थित गर्न र अराजकताबाट जोगाउन विधेयक आवश्यक रहेको उनले जोड दिए ।

सो अवसरमा मन्त्री गुरुङले नेपालको राजनीतिक, शैक्षिक रुपान्तरणमा योगदान पुर्‍याएका चिनियालाल सिंह र नारदमुनि थुलुङको प्रथम हुलाक टिकट आवरणमा टाँचा प्रदान गरेका थिए । साथै मन्त्रालयले यो वर्षभित्र सुरक्षण मुद्रण केन्द्रमार्फत स्वदेशमै सुरक्षासम्बन्धी सम्पूर्ण कागजात छाप्ने तयारीमा रहेको उनले जानकारी दिए ।

सुरक्षण मुद्रण केन्द्रको प्रमुख कार्यकारी अधिकृतसहित कर्मचारीको व्यवस्थापन गर्दै मन्त्रालयले छापाबाट राज्यको राजस्व सुरक्षित गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

त्यस्तै, कार्यक्रममा प्रतिनिधिसभा सदस्य हेमराज राईले हुलाक टिकटमार्फत राज्यलाई सुमार्ग निर्देशन गर्ने दुई व्यक्तित्वको इतिहास संरक्षण गर्नु प्रशंसनीय कार्य रहेको बताए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनी, चिनियालाल श्रेष्ठको तर्फबाट बुद्धिनारायण श्रेष्ठ र नारदमुनी थुलुङको तर्फबाट युवराज राईले उहाँहरुको योगदान र  व्यक्तित्वको विषयमा चर्चा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्